कृति समिक्षा ,राजेन्द्र पहाडी पर्वत 'हिरामणिको 'ठ्यौको'
कृति समीक्षा: बद्री ढकाल 'हिरामणि' को 'ठ्यौको' सामाजिक यथार्थ चित्रणको कसी
राजेन्द्र पहाडी
कुश्मा, पर्वत
असाधारण सिर्जना 'ठ्यौको
स्याङ्जा जिल्लाको आँधीखोला न. पा. - ६ मा वि.सं. २०३२ सालमा जन्मिएका, आमा खिमादेवी ढकाल र बुबा निधु प्रसाद ढकालका पुत्र रत्नका रूपमा हुर्केका तथा हाल बाँके जिल्ला कोहलपुरमा अध्यापन सेवामा संलग्न युवा साहित्यकार बद्री ढकाल 'हिरामणि'को नवीनतम हाइकु कृति 'ठ्यौको' भित्र २३२ वटा हाइकु सङ्ग्रहित छन्। यस कृतिमा प्रारम्भ मै उल्लिखित हाइकुहरू एक उदाहरणका रूपमा प्रस्तुत छन् :
नशाको थुप्रो
शक्ति केन्द्र टाउको
त्यस्तै हो ठ्यौको
'दृश्य र व्यवहारमा लहसिँदा निस्किएको मनको स्वतन्त्र अभिव्यक्तिलाई खाँदेर सूत्रबद्ध गरिएको सिर्जना नै हाइकु हो' भन्ने मान्यता राख्ने ढकालको यो तेस्रो हाइकु कृति हो। यसअघि उनका 'दामको पूजा ' (२०७०) र ' प्रतिनिधि हाइकुहरू ' (२०७७) संयुक्त सङ्ग्रहका रूपमा प्रकाशित भइसकेका छन्। मूलतः विज्ञान, कला र शिक्षा विषयका अध्येता भएर पनि उनको साहित्यिक संलग्नता, क्रियाशीलता र योगदान लोभलाग्दो देखिन्छ।
नेपाल हाइकु केन्द्र, बाँकेका संस्थापक अध्यक्ष रहेका हाइकुकार बद्री ढकाल ' हिरामणि ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके, सहिद स्मृति केन्द्र नेपाल, भेरी साहित्य समाज, बाँके र मधुवन नेपाल कला केन्द्र, बाँकेलगायतका सङ्घ संस्थामा आबद्ध भई साहित्य, कला र सङ्गीतको क्षेत्रमा यथासक्य योगदान दिइरहेका देखिन्छन्। साहित्यिक सिर्जनाका माध्यमबाट आदर्श समाज निर्माणको पक्षमा वकालत गर्न चाहने स्रष्टा ढकालका पुस्तककार बाहेक पनि थुप्रै रचनाहरू फुटकर रूपमा प्रकाशित भइरहेका छन् भने हाइकु कविता लेखनको क्षेत्रमा उनको विशेष अभिरुचि रहेको बुझ्न सकिन्छ। त्यही रुचिको पछिल्लो उत्पादनका रूपमा आएको हो 'ठ्यौको ' हाइकु सङ्ग्रह।
हाइकुको बढ्दो लोकप्रियता
पछिल्लो समय नेपाली वाङ्मय फाँटमा छोटो, छरिता वा टुक्रा सिर्जनाका पाठकको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको देखिन्छ। गीत, गजल, मुक्तक, चोका, ताङ्काजस्ता तुलनात्मक रूपमा छोटो रचनाहरूले धेरैथोरै आफ्नो स्थान बनाएको देख्न/पढ्न पनि पाइन्छ। यही क्रममा जापानी शैलीका हाइकु सिर्जनाहरूले पनि पाठकको मनग्य ध्यानाकर्षण गरिरहेको अवस्था छ। जापानी शैलीका छोटो कविता 'हाइकु' ले आफ्नो संक्षिप्त स्वरूपमा विहङ्गम दृष्टिकोण प्रस्तुत गर्छन्। ५-७-५ को संरचना अन्तर्गत जम्मा १७ अक्षर प्रयोग गरी तीन हरफमा लेखिने हाइकु कविताले कविका भावना, विचार र चिन्तनलाई अत्यन्त छोटो रूपमा शक्तिशाली ढङ्गले प्रस्तुत गर्छन् भन्ने विश्वास गरिन्छ। हाइकुमा कविले कम्तीमा शब्द खर्चिन्छन् तर उसले प्रयोग गरेका हरेक शब्दको भाव, सङ्केत र मर्म ज्यादै धेरै, गहिरो र फरक किसिमको हुन्छ। युवा स्रष्टा बद्री ढकाल 'हिरामणि' को 'ठ्यौको ' हाइकु सङ्ग्रहमा सङ्ग्रहित हाइकुहरूमा पनि यी मर्महरू बग्ने आत्मासात् गरिएको पाइन्छ।
'ठ्यौको' मा भाषिक र सामाजिक यथार्थ
'ठ्यौको' हाइकु कृतिभित्र पाठकले आफ्नो इच्छानुसार नेपाली र अङ्ग्रेजी भाषामा हाइकुहरूको स्वाद लिन पाउने अवस्था छ। आफ्ना हाइकुहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर कृतिमा समावेश गरी स्रष्टा ढकालले नयाँ प्रयोग पनि गरेका छन्। मुलुकले सङ्घीय राजनीतिक प्रणालीमा प्रवेश गरेको छोटो समयमै जनमानसमा आएको प्रणालीगत वितृष्णालाई उजागर गर्दै ढकाल हाइकुमार्फत् यसरी अभिव्यक्त हुन्छन्:
देश प्रदेश
संसद र सांसद
मन्त्रीको चाङ्ग
वस्तुतः जुनसुकै विधाको साहित्यिक सिर्जनाले समाज, सवाल र सहज प्रस्तुतिलाई पन्छाउन मिल्दैन। स्रष्टाको सिर्जनाले समाजका सवाललाई वस्तुगत रूपमा उत्थान गर्ने भएकाले नै साहित्यलाई समाजको दर्पणका रूपमा अर्थ्याइएको हुनुपर्छ। तसर्थ, स्रष्टाले समाजलाई झकझक्याउने, जागृत गर्ने, सचेतीकरण गर्ने र उद्बेलित गर्ने ध्येयले सिर्जना धर्म निर्वाह गर्नुपर्छ भन्ने आग्रहलाई अन्यथा भन्न सकिँदैन। ढकालका हाइकुले समाजको छिन्द्राण्वेषण गर्ने जुन पहल र परख गरेका छन् त्यो असाध्यै स्तुत्य छ।
मायाको मन्त्र
जप गर्दै चखेवा
अनसनमा
कति जीवन्त तथा शाश्वत लाग्छन् यी हाइकुहरू। मूलतः प्रत्येक व्यक्तिमा आ–आफ्ना अप्रस्फुटित भावना र कल्पना हुन्छन्। जब ती भावनालाई उर्वर हुने वातावरण प्राप्त हुन्छ, तब ती छाल, ज्वारभाटा र शीतबिन्दु भएर शिखरित हुन्छन्। यिनै प्रखर दिवेला र प्रेमील नादको उर्मिमा साहित्य सिर्जना हुन्छ वा लेखकले साहित्य वृष्टि गर्छ। हरेक मानिसमा क्षण-प्रतिपल नयाँ-नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पच्छन्। यही सिलसिलामा आफ्ना मनका भाव अरूको सामुन्ने व्यक्त गर्न थाल्छ।
बढ्यो इमान
साहस स्वाभिमान
नाकाबन्दीले
मनका भाव व्यक्त गर्ने दुईटा तरिका छन्– बोलेर र लेखेर। बोलेर व्यक्त गरिएको भाव अमिट हुन्छ र दीर्घकालिक हुन्छ। जब भाषाका माध्यमबाट मनको गहिराइ पक्डेर उद्बेलित शब्दसिलसिलालाई कागजका पानामा पस्किइन्छ, तब मीठो, सुमधुर र मनै लोभ्याउने साहित्य जन्मिन्छ। फुर्सद मन्त्र र जप ध्यानले मात्र उत्कृष्ट सिर्जना सम्भव हुँदैन। हो, यही मर्मका बीचबाट जन्मेको हुनुपर्छ स्रष्टा बद्री ढकालको 'ठ्यौको' हाइकु कृति।
माकुरी चाल
खुट्टा सिरानीतिर
मायाको जाल
त्यसो त कुनै पनि विधाको साहित्य सिर्जना सहज र सरल विषय हुँदै होइन, अपितु भावनात्मक उच्छ्वासहरूले जब स्रष्टाको माथिल्लो अनुहारलाई रिङ्गटा खेलाउँछन्, तब एउटा लेखक/साहित्यकार कष्टप्रद ओहोरादोहोरा बस्छ र जन्माउँछ उर्वर सिर्जना। कवि, लेखक आफ्ना सन्तानरूपी सिर्जनामा आफूलाई यसरी मनखुस गराउँछ, मानौँ उसको लागि सिर्जना नै सबैथोक हो। मनका विविध रङ्गहरूलाई साहित्य लेखनका माध्यमबाट सम्प्रेषण गर्दा अतिशय उद्बेलित हुन स्रष्टालाई कसैले सिकाइरहनु पर्दैन। ऊ आफैँभित्र खुसी हुन्छ र अरूको मनभित्र पसेर पनि खुसी हुन्छ।
पाकेको तन
जिन्दगी सत्य खोज्छ
अनुसन्धान
'ठ्यौको' को प्रभाव र समाज चित्रण
'ठ्यौको' भित्रका सबैजसो हाइकुहरूले हाइकुकार ढकाललाई मात्र खुसी दिँदैनन्, अपितु सबै पाठक र दृष्टाहरू भित्री हृदयदेखि नै उद्बेलित र पुलकित हुन सक्छन्। यसो किनभने बद्री ढकालकृत 'ठ्याउसो' भित्रका सबैजसो हाइकुहरूले समकालीन जीवन र जगत्को तीतो यथार्थलाई उदाङ्ग पारेका छन्। ‘बल्ल प¥यो निरमाया–माकुरी जालैमा’ भनेजस्तो सरल रेखामा पनि कहाँ जान्छ र जिन्दगी? वास्तविक जीवनको रसास्वादन गर्न त अध्ययन, अनुभव र अनुसन्धानकै जरुरत पर्छ।
मूलको पानी
अछुतोको करुवा
प्यासी बाहुन
यस कृतिमा समाविष्ट सबै हाइकुहरू बोधगम्य, सरल, सरस र सुस्वादिना छन्। ढकालका हाइकुहरू हाम्रो वर्तमान समाजलाई जस्ताको तस्तै उद्भिन्न, खेलाउन र छिम्न सक्षम छन्। आफू जन्मे हुर्केको समाजको विसङ्गत अभ्यासलाई धारेहात लगाउन उनका सिर्जनाहरू अत्यन्त काबिल देखिन्छन्। उनका हाइकुमा छुत–अछुत, ठूला–साना, पढेका–नपढेका, सहरिया–गाउँले, शासक–शासित, धनी–गरिब, महिला–पुरुष, किशोर–किशोरी, भौतिक–प्राकृतिकलगायतका समसामयिक सवालहरू रोचक ढङ्गले उत्खनन गर्ने काम भएको छ। समाजकै परिवेशले वेष्टित भएर सिर्जना गरिएका हाइकुहरू भएकाले पाठक तन्मयताका साथ उनका हाइकुमा बाँधिन्छन्, हाइकुलाई मनन गर्छन् र हाइकुसँगै रमाउँछन् पनि।
बाढी पहिरो
खान्छ मुटु कलेजाे
दुःखी जनता
जनमनको पीडा, आर्तनाद र दुःख बोलेका छन् ढकालका हाइकुहरूले। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेले प्रकाशनको भूमिका निर्वाह गरेको 'ठ्यौको' हाइकु सङ्ग्रहमा हाइकुकार ढकालले आफूले देखेका, भोगेका, सुनेका र अनुभूत गरेका विषयहरूलाई बिम्ब र प्रतीकहरूको सुन्दर संयोजनसहित हाइकु कविताको रूपमा प्रस्तुत गरेका छन्। उनको हाइकु लेखन समाजको विविधताकै प्रतिबिम्बका रूपमा अघि बढेको छ। वर्तमान समाजको विचित्रको चित्रलाई हाइकुमा उतार्ने उनको अभ्यास घट्नालग्य छ। देशप्रेम, संस्कृतिप्रेम, भाइचारा र बन्धुत्वको भावनाको प्रवद्र्धनमा हाइकुकार ढकालको विशेष जोड रहेको भेटिन्छ उनका हाइकुमा दृष्टिकोचर गर्दा। थोरै शब्दमा आफ्ना अरुचिका विषयमा व्यङ्ग्यबाण प्रक्षेपण गर्नु सामान्य कुरा हुँदै होइन, तर हाइकुकार ढकालले यो कामलाई कुशलतापूर्वक सम्पादन गरेको देखिन्छ। निकटको छिमेकीले हामीलाई हेपेर गर्ने निकृष्ट व्यवहारप्रति ढकालले कसरी व्यङ्ग्य प्रहार गरेका छन् यसरी:
भारत ठान्छ
लिपुलेक दुख्दैन
डोक्लाम दुख्छ
हाइकुमा जीवन र समयको प्रतिबिम्ब
यस कृतिमा समाविष्ट हाइकुहरू विचरण गर्दा कविले आफू सामाजिक जीवनका विभिन्न क्षेत्रमा संलग्न हुँदा आर्जन गरेका विषयविविध अध्ययन, अनुभव, अभ्यास र अनुभूतिहरूको संयोजन भेट्न सकिन्छ। ढकालका हाइकुहरू सुमधुर, सुरम्य, हृदयग्राही, छेडखानीयुक्त र पाठकलाई श्वास छुने खालका छन्। यिनले प्रयोग गरेका शब्दपुष्पहरूको सहजता र विषयको सघनताले हाइकु सङ्ग्रहको ओज बढाइदिएको छ। सबैका सबै हाइकु अनुशीलन गर्दा हाइकु लेखनमा ढकाल निकै फुकेर अघि बढेको अनुभव गर्छ पाठकले। स्रष्टा बद्री ढकाल बढो उदात्त र निमग्न भएर हाइकुका शब्दहरूसँग निखारको धार लगाइरहेका भेटिन्छन् हाइकुभित्र।
गेटको फूल
कार्यालय नछिर्दै
दलाल पञ्जा
यति चोटिला बिम्बहरूको सहज प्रयोगबाट समाजको बेथिति, अनियमितता र छाडापनको दोहोलो काड्न सक्नु स्रष्टाको सफलता हो जस्तो लाग्छ। हाइकुले जीवन, जगत् र पर्यावरणका सर्वाङ्गीण पक्षहरूलाई बोधगम्य, शालीन, सौम्य तथा धीरतापूर्वक प्रस्तुत गर्नुपर्छ भन्ने अपेक्षा राखिन्छ। सिर्जनामा उच्च कोटिको समाजशास्त्रीय चेत हुनुपर्ने तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। जुन कुरा ढकालका हाइकुहरूमा प्रशस्त भेट्न सकिन्छ। ढकाल आफू बाँचेको समाजका प्रति निष्ठापूर्वक प्रस्तुत हुने प्रयास गरेको देखिन्छन् हाइकुका विषयक्षेत्र छनोट गर्दा। उनका हाइकुले आञ्चलिकताको भावनालाई पनि मनग्य उद्बोधन गरेका छन्।
रुप्से छहरा
काखैमा अन्धगल्छि
तान्दछ बल्छी
रातो सुकुल
लिवाङ्ग र थवाङ्ग
रातै रुकुम
झट्ट हेर्दा ढकालकृत हाइकुहरू उखानटुक्काजस्ता, भजनका छुकाजस्ता, धर्मग्रन्थका श्लोकजस्ता, मन्त्रजस्ता वा सामाजिक कहावतका रहनीजस्ता लाग्ने गर्छन्, जसले समाजमा व्यक्तिहरूलाई एक खालको दर्शन, नैतिकता, सभ्यता र शिष्टाचार तथा आचार–विचार सिकाइरहेका हुन्छन्। उनका थुप्रै हाइकुहरूले उपरोक्त जिम्मेवारीलाई पूरा गर्ने सत्प्रयास गरेका छन्। उनका अधिकांश हाइकुमा समयको आवाजले प्रमुख स्थान पाइरहेको भेटिन्छ।
खोला चालेर
छैन महल मोह
नुनको जोहो
डुबेको घर
घाउमा नुन छर्क
शीतलहर
भए खाने र पुर्याएर खाने वर्गको जीवन भोगाइको यो भन्दा मार्मिक चित्रण अरु के नै पो हुन सक्छ र? समयलाई यथोचित प्रतिविम्बित गर्ने ध्येयमा ढकालको लेखन अविचलित जुटिरहेको पत्तो पाउन कुनै कठिनाई हुँदैन। कालको सौन्दर्य महिमा गाउन र यसको विद्रुपतामाथि कठोरतापूर्वक प्रहार गर्न यिनी चुकेका छैनन्। समयले लिन खोजेको अधोगतिका प्रति यिनले आफ्ना हाइकुमा प्रयुक्त शब्दबाट नाराजी प्रकट गरेका छन्। क्षणिक मादकतामा रम्ने र के के न जित्यौँ ठान्नेहरूलाई यिनले शालिनतापूर्वक बन्दनना गर्न रुचाउँछन्।
पुलती तिमी
झुसिलकिरा बन्दाको
क्षण सम्झ त !
राजनीतिक चेतना र सांस्कृतिक प्रतिरोध
स्रष्टा बद्री ढकालले आफ्ना हाइकुमार्फत् मुलुकमा विकसित हुँदै गइरहेको विकृत राजनीतिका प्रति पनि नाराजी प्रकट गर्छन्। मुलुकको समृद्धि, सम्पन्नता, स्वायत्तता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका पक्षमा शान्तभावमा आग्रह राख्ने यी स्रष्टाले छिमेकी मुलुकको हेपाह प्रवृत्ति र देशका राजनीतिक नेताहरूको दोहोरो भूमिकाका प्रति गम्भीर प्रश्न खडा गरेका छन् आफ्ना हाइकुमार्फत्।
नदी बाँधेर
सीमाना छेउछाउ
नेता पर्खाल
उफ्रायो बिट्टा
ट्ववार ट्ववार ब्यागुता
चुनावी नेता
यति मात्र होइन, हाइकुकार ढकालले सुविचारित ढङ्गले नै पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको पश्चिमाकरणको विरोध गरेको पनि भेउ पाउन सकिन्छ। आफ्नो मौलिक मूल्यमान्यता र संस्कार संस्कृतिलाई चटक्कै छोडेर विदेशीको अन्धानुकरण गर्ने कुराले राम्रो नगर्ने तर्फ उनले सरोकारवालाहरूलाई सचेत बनाउन चाहेका छन्।
सेतो हिमाल
बजारिया फेसन
काला पहाड
जन्मोत्सव रे
बत्ती निभाई केक
कति उदेक !
कवि ढकाल समाजमा व्याप्त असमान शक्ति सम्बन्ध र लैङ्गिक विभेदका प्रति पनि सुविचारित दृष्टिकोण प्रस्तुत गर्छन् आफ्ना हाइकु सिर्जनामार्फत्। महिलालाई भोग्याका रूपमा वा सुन्दरताको प्रतीकका रूपमा मात्र परिभाषित गर्न र बुझ्न खोज्ने खोक्रो धारणाका प्रति उनको विमति रहेको देखिन्छ उनका हाइकु पढ्दै जाँदा।
साउने झरी
हरियो हतगडि
पाखुराभरि
भित्र गरम
अत्यास छ बेसरी
बाहिर भ्रम
वास्तवमा किन चाउरियोस मरिज आफ्नै रागले भनेजस्तो महिलाको सुन्दरताको मानक मानिएका पहिरन र शृङ्गारका प्रसाधनहरू नै हतगडिका रूपमा रहनु सभ्य समाजका लागि पाच्य हुन सक्दैन। यो कुरामा कवि ढकालको स्पष्ट विचार प्रस्फुटित भएको छ। मुखमा राम राम बगलीमा छुरा भनेजस्तो बाहिर देखाउने एकाथरी र भित्र गर्ने अर्कैथरी भएपछि मुलुकले कोल्टे फेर्ने कुरा एकादेशको कथामा मात्र सीमित हुन बेर लाग्दैन भनेर हाइकुकार ढकालले सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहेको बुझ्न सकिन्छ।
सालिक पनि
अनसन बसेर
मरे के गर्ने ?
'ठ्याउसो' को गहनता र साहित्यिक उचाइ
यस्तो अहम सवाललाई सार्वजनिक रूपमा उत्थान गर्ने हिम्मत राख्नु स्रष्टा ढकालको मननीय पक्ष हो। यता न उताको मझधारमा अनिर्णयको बन्दी बनेर मुलुक र समाजले निकास पाउने सम्भावना नभएकाले सामाजिक न्याय सुनिश्चित हुनेगरी अघि बढ्नु नै सबैको हितमा हुने कुरालाई ढकालले स्मरण गराउन चाहेको देखिन्छ। सबैको चित्त बुझाउने काम सजिलो हुनै सक्दैन, तसर्थ सर्वजन हितायः सर्वजन सुखायः को स्थानमा बहुजन हितायः बहुजन सुखायः को मान्यताले पनि अघि बढ्नु समीचीन हुन सक्छ भन्ने स्रष्टा ढकालको धारणा हो भन्ने देखिन्छ। समस्यामाथि समस्या थपेर कुनै निकास निस्कन नसक्ने तथ्यमा स्रष्टा ढकाल स्पष्ट देखिन्छन्।
यस्ता थुप्रै सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक तथा वैदेशिक मामिलाका विषयवस्तुहरूलाई हाइकुकार बद्री ढकाल 'हिरामणि'ले आफ्ना हाइकुहरूमा समेटेका छन्। उनका अधिकांश हाइकुहरू नेपाली समाजको यथार्थलाई पटाक्षेप गर्न र समाजभित्रको बहुविषयगत अन्तरकुन्तरलाई अन्वेषण गर्न सफल छन् भन्न सकिन्छ। समाजलाई र मुलुकलाई दिशा निर्देश गर्न पनि उनका हाइकुहरूले सतत प्रयत्न गरेका छन्। आफ्ना हाइकुमार्फत् हाइकुकार ढकालले समाजका हताहतकर्ताहरूलाई लल्कार्ने र प्रश्न सोध्ने काम मात्र गरेका छैनन्, अपितु अबको कार्यदिशा पनि सुस्पष्ट रूपमा प्रस्तुत गरेका छन्। यस तथ्यबाट के भन्न सकिन्छ भने ढकाल साहित्य सिर्जनाका फाँटमा केवल स्रष्टाका रूपमा मात्र नभई दृष्टाका रूपमा पनि प्रस्तुत भएका छन्।
अन्तमा, हाइकुकार बद्री ढकाल 'हिरामणि' को 'ठ्यौको हाइकु सङ्ग्रह साँच्चिकै सफल कृतिका रूपमा पल्लवित भइरहोस्। नेपाली बृहत् शब्दकोशका अनुसार 'ठ्याउसो' लाई काठको ठूलो टुक्रा, गिडुलको वा ठेउसोका रूपमा अर्थ्याइएको देखिन्छ। ठ्याउसोलाई विधि र ढङ्ग पु¥याएर प्रयोग गर्न जानियो भने यसलाई किमती सामग्री उत्पादनमा सदुपयोग गर्न पनि सकिन्छ भने ढङ्ग पुगेन भने फुर्सद क्षणभरको तातोपनका लागि आगो तापेर वा यत्तिकै सडेर खेर जान दिने स्थिति पनि आउन सक्छ। यति मात्र भनौँ, सिर्जनशील काममा र मौजुदा समाजको उत्थानका लागि ठ्याउसो र ठ्याउसोहरूको सकारात्मक प्रयोग अपेक्षित देखिन्छ।
फेरिँनैपर्छ
सूर्यको कण फेरिँदा
छायाँको मान्छे
प्रस्तुत कृतिमा समाविष्ट दोस्रो हाइकुको भावार्थ निकै मार्मिक र चोटिलो प्रतीत हुन्छ। समयले सिकाउने सबै सबैले सिक्नै पर्छ। 'दृष्टि अनुसारको सृष्टि कि, सृष्टि अनुसारको दृष्टि' निर्माण गर्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्ला। तसर्थ, 'ठ्याउसो' लाई नशाको थुप्रो मान्ने वा शक्ति केन्द्रको टाउको मान्ने यसको जिम्मा पाठकीय स्वतन्त्रताको अधीनमा छोड्नु नै मुनासिब होला। हाइकुकार बद्री ढकाल 'हिरामणि' को साहित्यिक धरातलको उन्नयनको कामना गर्दछु। धन्यवाद।
कृति: ठ्यौको (हाइकुसङ्ग्रह)
कृतिाकार: बद्री ढकाल 'हिरामणि'
संस्करण: प्रथम २०७८
प्रकाशक : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके
मूल्य: रु. ३००
(शिक्षकका लागि राष्ट्रिय अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष पहाडी पर्वत साहित्य सङ्गम, पर्वतका अध्यक्ष हुन्।)
मिति: १ कार्तिक, २०७८
ईमेल: pahadirajendra@gmail.com
Comments