बद्री ढकालको लघुकथा "पार्टी"

    "पार्टी"

" सर मेरो तलव किन काटियो ? "लिला मेमले प्रधानाध्यापकसँग स्पष्ट हुन खोजिन् ।

" मलाई त थाहै थिएन । शिक्षक प्रतिनिधिले लेखेर ठिक्क पार्नुभएको रहेछ समितिले निर्णय गर्यो । " प्रधानाध्यापकले घुमाएर कुरा गरे।


" बैठकको शुरू मै सबैको उपस्थिति उठाइन्छ । अनि विभिन्न घरायसी कुराकानी निकाल्दै समय गुजारिन्छ । अन्तमा, तयारी खेस्रा भटाभट सार्ने गरिन्छ। स्टाफको सेवा सुविधा घटाउने निर्णयमा म किन सहमत हुन्थे र ! नपत्याए रजिस्टर हेर्न सक्नु हुन्छ मैले अन्त्यमा हस्ताक्षर गरेको छु कि छैन ?" शिक्षक प्रतिनिधिले मेमलाई विश्वास दिलाउन खोजे ।

मेमले एकजना समिति सदस्यसँग फोनमा गुनासो पोखिन् । “ खै के लेख्छन् मेम? अध्यक्षले त सबैसँग सल्लाह भएर ठिक्क पारेको छु भन्नु हुन्थ्यो त ! हामी मजदुरी गर्ने मान्छे, हिँड्नै हतारो।" भन्ने खालको जबाफ आयो ।

त्यसपछि उनि वि.व्य.स. अध्यक्षको कक्षमा पुगेर आफ्नो कुरा राखिन् । "वि.व्य.स.को पहिलो बैठकमै अघिल्लो समितिले थप गरेको मेरो तलव काट्‌नुको कारण के हो? अध्यक्ष ज्यू ! मैले के गल्ती गरें ? मैले माथिल्लो कक्षामा पढाएर सहयोग गरेकी छैन र ?"

अध्यक्षले भने " विद्यालयको आर्थिक स्थिति नाजुक छ। यही समिति चुनावमा लाखौँ खर्च भएको छ । तपाईंलाई संघीय सरकारले दिएको दश हजार छँदैछ। अहिलेलाई यहाँबाट थप दिन सकिएन। चित्त नबुझे तपाईंको आफ्नै पार्टीमा गएर कुरा राख्नू होला "

आँखा टिलपिल पार्दै वाल विकास शिक्षकले भक्कानिएर भनिन् " मेरो पार्टी कुन छ र सर ?"

लेखक : बद्री ढकाल हिरामणि, कोहलपुर बाँके 

Comments

Popular posts from this blog

कृति समिक्षा ,राजेन्द्र पहाडी पर्वत 'हिरामणिको 'ठ्यौको'

उपमन्यु बद्री हिरामणि परिचय