बाँकेको दोस्रो हाइकु सङ्ग्रह 'दामको पूजा ' र कृतिकार बद्री ढकाल हिरामणिको बारेमा पोखराका चर्चित साहित्यकार असफल गौतम द्वारा गरिएको समिक्षा। नेपाली लघु कविता संग्रह दामको पूजा
" हिरामणि बन्ने अभियानमा दामको पूजा " समिक्षक:- असफल गौतम
बद्री ढकाल (२०३२), स्याङ्जाको फापरथुममा पिता निधुप्रसाद र माता खिमादेवी ढकालको कोखबाट जन्मेका श्रष्टा हुन् । एक श्रीमती (राधिका ) सहित दुई छोराछोरी (सरोज र पद्मजयन्ती) का अभिभावक बनेका ढकाल आफूलाई "हिरामणि" को नामबाट चिनाउन चाहन्छन् । फापरथुमबाट पोखरा हुँदै कोहलपुरसम्म पुगेका ढकाल जिन्दगीको यात्रालाई चक डस्टरको धुलोसँग साटेर सोही स्थानमा रहेर दैनिकीको गुजारा चलाउँदै आएका छन् । विज्ञानका विद्यार्थी ढकाल विज्ञान स्तम्भ लेख्छन्, केही साहित्यिक पत्रपत्रिका र सङ्घसंस्थामा आवद्ध रहेर नेपाली वाङ्मयको उत्थानमा क्रियाशील रहन्छन् । यसकै सिलसिलामा उनी हाइकु विधालाई रोजेर आफ्नो पहिलो कृति ‘दामको पूजा’ (२०७०, कात्तिक) लिएर साहित्यिक दौडमा सहभागी भएका छन् । यहाँ उनको त्यही हाइकु सङ्ग्रहका बारेमा थोरबहुत टिप्पणी, सुझाव, सल्लाह र गुनासो व्यक्त गर्ने जर्मको गरिएको छ ।
विक्रम शिशिर राम्रा कलाकारिता भएका व्यक्ति हुन् । उनलाई कला र कुचीको सहायताले मात्र चिनाउन खोजियो भने अन्याय हुनेमा दुई मत राख्नैपर्दैन । किनभने शिशिर साहित्यकार पनि हुन् । राम्रा र स्तरिय रचना धर्मिताले उनलाई हिरामणिको कृतिको आवरण तयार गर्ने दर्जा निधारण गरिसकेको छ । उनै शिशिरको सुन्दर आवरणमा सजिएको दामको पूजाको रूप उत्कृष्ट छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले प्रकाशनको चॉजोपाजो मिलाएको ढकालको प्रस्तुत कृति जम्मा ८८ पृष्ठमा फैलिएको छ । व्यक्तिगत रु. ७५ र संस्थागत एक सय रुपैयाँ गरी दुई थरी मूल्य निर्धारण गरिएको छ । कृतिमा प्रेमप्रकाश मल्ल मधुकर, डा. निर्मलमणि अधिकारी, डा. निरञ्जन आचार्य र सृजन लम्सालका मन्तव्य, शुभकामना र भूमिकाले उनको साहित्यिक यात्राको सफलताको कामना गरेका छन् । हिरामणिको हाइकुसङ्ग्रहमा दुई सय १६ वटा पाँच, सात र पाँचको लेख्य संरचनामा रहेका हाइकु रहेका छन् । यस्तै गरी पछिल्लो समय नयाँ प्रयोगका नाममा भएका प्रयोगका पछिपछि लागेर लेखिएका दुई पाँच र दुई लेख्य अक्षर संरचनाका १२ वटा हाइकु पनि कृतिमा समावेश गरिएका छन् । दुवै संरचनाका गरी कृतिमा जम्मा दुई सय २८ वटा हाइकु सङ्ग्रहीत छन् ।
ढकाल नेपाली भाषा साहित्यका विद्यार्थी होइनन् तापनि हाइकु लेखनको सन्दर्भमा विज्ञानको प्रयोग गर्दैनन् । आफ्नै गाउँबेसीका सन्दर्भ र प्रसङ्गलाई संरचना मिलाएर हाइकु लेख्छन् । कुनै वेला उनलाई छिमकिहरूले गरेको व्यवहार देखेर हाइकु फुर्छ, कुनै वेला उन्नति र प्रगति देखेर । उनको हाइकु लेखनलाई उन्नति र प्रगतिले मात्र अगाडि बढाएको छैन । देशमा भएको अराजकता, अन्यौलता, घुसखोरी, भ्रष्टाचार र विश्वासघात जस्ता सन्दर्भले पनि लेखन यात्रालाई अगाडि बढाउन प्रोत्साहन गरेको छ । व्याकरणिक त्रुटि नहेरिकन भन्ने हो भने उनका हाइकुका विषयवस्तु समय सान्दर्भिक र उत्कृष्ट छन् ।
जस्तो :- सुपारी निम्तो,
देखावटि सम्मान,
बाण वचन । (पृ.४)
प्रस्तुत हाइकुले भन्न खोजेको कुरालाई यहाँ व्याख्या गर्नु पर्दैन । यसबाट प्रष्ट हुन्छ ढकाल कस्ता हाइकु लेख्छन् भन्ने कुरा । जनजीवनको जिब्रोमा भिजेको भाषाको प्रयोग र सरल वाक्य गठन उनको सवल पक्ष हो । सम्मानका खातिर निम्तोका लागि सुपारी दिन आएको छ, तर वचनले नआइदिए हुने थियो भन्ने भाव व्यक्त गरेको हुनुपर्छ, यसै भन्छ उनको प्रस्तुत हाइकुले । उनी आफ्ना दामलीका कुरा र व्यवहार देखेर मात्र हाइकु लेख्दैनन् । आफ्ना समकालीन मित्रहरूले गरेको उन्नती र प्रगतिले पनि अगाडि बढ्नका लागि प्रेरणा दिएको अनुमान गर्न सकिन्छ ।
ढकाल अग्रजलाई सम्मान र अनुजलाई माया गर्ने स्रष्टामध्येका एक हुन् त्यसैले भन्छन् ।
सलाम गरूँ,
झमक पुष्पालाई,
हातै भएन । (पृ.६)
पुष्पा र झमक नेपाली वाङ्मयका उज्ज्वल नक्षत्र हुन् । नेपाली साहित्यकारका लागि निकै महत्वका साथ हेरिने मदन पुरस्कार पारिजात पछि वर्तमानमा आफ्नो पोल्टामा पार्ने झमक घिमिरेलाई सम्झन्छन् र पुष्पालाई उनी शब्दका माध्यमबाट नै सम्मान गर्दछन् । वर्तमान समयमा एउटा सर्जकले अर्को सर्जकको नाम लिए आफू सानो हुन्छु भन्ने सोच्छन् त्यसैले साहित्यिक यात्रामा वर्षौदेखि साधनारत स्रष्टाका बारेमा थाहा नपाएको नाटक गर्दछन् तर ढकालले त्यस्ता संस्कारको संरक्षण गर्ने छैनन् यो पङ्क्तिकारको ठम्याई मात्र हो । एउटा स्रष्टाका लागि त्यो भन्दा ठूलो सम्मान के हुन सक्छन् ? ढकाल छिमलको व्यवहार र साहित्य साधकको सम्मानका खातिर मात्र हाइकु लेख्दैनन् । वर्तमान समयमा देखिएको अराजकताको सन्दर्भलाई लिएर हाइकुका माध्यमबाट आफ्नो आवाज बुलन्द पार्दछन् । मात्र एक दशकको कुरा गर्ने हो भने, देशमा सशस्त्र द्वन्द्व भयो । जनआन्दोलन भयो । लोकतन्त्र आयो । संविधान सभाको चुनाव दुई पटक भयो । अनुहार फेरियो । कुर्ची फेरियो । माथिल्लो निकायमा हुनेहरूका सबै कुरा फेरिए । यो मात्र होइन अब त नेपाल सरकारकै कर्मचारी पनि प्रधानमन्त्री हुन थाल्यो यो कस्तो विडम्बना भन्दै यसरी लेख्छन् ।
पुरै निकाय,
भो कि त कर्मचारी,
प्रधानमन्त्री । (पृ.९)
देशको चिन्तामा डुब्दाडुब्दै उनी घर व्यवहार बिग्रेर भताभुङ्ग भएका परिवारको विचल्ली देख्दा चिन्तित हुन्छन् । भनिन्छ भगवानले पनि जान्न नसकेको नारी चरित्र भनेर, त्यस्तै जस्तो ढकाललाई पनि भएको छ । अधिकांश परिवारमा देखिएको समस्यालाई उनले सार्वजनीकिकरण गरेका छन्, यसरी
बूढी सोझी छ,
मसँग लजाउँछे,
रेष्टुराँ जान्छे । (पृ.१०)
माया प्रेमका कुरा त परका भए । आफ्नो श्रीमानसँग दुःख सुखका कुरा गर्न लजाउँछे तापनि बारबार रेष्टुराँ जान्छे । के का लागि परिवारलाई चिन्ता भएको छ । कतिपय त्यस्तै नियत राखेर हिड्ने होलान तर सबैलाई एउटै तुलोमा राखेर जोख्नु मुर्खता हुनसक्छ । पछिल्लो समय मान्छेहरू मोजमस्तीमा बाँच्न मन पराउन थालेका छन् । उनीहरू बिना मेहेनत सफलता चाहन्छन् । ती अधिकांश प्रतिनिधि पात्रको सन्दर्भलाई केवल एउटै हाइकुले काम गरेको छ, त्यसैले त हाइकु सियोको टुप्पो जस्तो हुनुपर्छ भन्ने मान्यता राख्छ पङ्क्तिकारले । हेरौं वर्तमानका छोराहरूको चाला ढकालका हाइकुमाः
शोक न सुर्ता,
जिउनुको क्या मज्जा,
बावुको विर्ता ।(पृ.१६)
बावुको विर्ता पाएपछि के को चिन्ता ? ढकालका कृति भित्रका हाइकुहरू अधिकांश चोटिला र स्वादिला छन् । केही नमुनाका लागि यहाँ प्रस्तुत गर्नैपर्ने हुन्छ।
सामग्री सजा,
मान्छे,बाजा र भोज,
दामको पूजा ।(पृ. २३)
नेताको त्याग,
गरीब कहाँ भुजा,
दामको पूजा ।(पृ.२४)
स्रोतव्यक्तिका,
स्कूलमा मनपर्दी,
जि.शि.का. मौन । (पृ.४८)
निर्जीव ढुङ्गो,
प्राण प्रतिष्ठापछि,
देउता बन्छ । (पृ. ५६)
तिमी नभए,
म रातै भरि रून्थे,
मेरी पूर्णिमा ।(पृ. ६०)
बहु विबाह,
कानूनले दिदैन,
मन्त्री नै जन्ती । (पृ. ६३)
दशै तिहार,
बालबच्चा सिहार,
ऋण हजार । (पृ. ७१)
पङ्क्तिकारले हाइकु विधाको दशक लामो अनुसन्धानको सन्दर्भमा ढकाललाई तीन पटक फोन गरेको थियो । उनको हाइकु लेखनको क्रियाशीलता र हाइकुको अध्ययनका लागि । उनी उक्त समय आफ्नै हाइकु कृति प्रकाशनको चाजोपाँजोमा रहेछन्, त्यसैले त्यती रूचिकर सम्बन्ध स्थापित हुन सकेन । आज कृति नै अध्ययन गर्न पाउँदा खुसी नलाग्ने कुरै भएन । ढकालले पहिलो पाइलो नै हाइकुमा पारेर लामो सफरमा निस्केका छन् । यो स्तुत्य कुरा हो हाइकुप्रेमीका लागि । उनको हाइकुप्रतिको मोहलाई सम्मान गर्नुपर्छ । सम्मान र सलामका नाममा उनका कृतिमा देखिएका कमजोरीका बारेमा केही बोलिएन भने उनको यो अनन्त यात्राले दुःख पाउने छ । यो कुनै आग्रह पुर्वाग्रह लिएर लेखिएको समीक्षा होइन । उनको सम्मानका खातिर सुझाव र मार्गनिर्देशन गरिएको मात्र हो । यहाँ उल्लेख गरिएका सन्दर्भमा उनी सचेत हुनु आवश्यक छ । यसर्थ प्रस्तुत समीक्षाले ढकाललाई सही मार्गनिर्देशन गर्ने छ भन्ने ठम्याइ मात्रै हो ।
ढकालको कृतिको मुहार चित्रले जति कृतिको रूपमा उत्कृष्टता प्रदान गरेको छ भूमिकाले त्यती उचाइमा ढकाललाई पुर्याउन सकेको देखिदैन । सृजन लम्साल नाम सुनेका, देख भेट नभएका पात्र हुन् । उनले स्वीकार गरेका छन् हाइकुको भूमिका लेखनको सन्दर्भलाई यसर्थ लम्साललाई दोष दिनु व्यर्थ रहनेछ । स्रष्टा ढकालकै पनि केही कमजोर पक्षहरू रहेका छन् । उनी आफूले हाइकु सङ्ग्रहित गरेको डायरीलाई राम्ररी नोट गरेर कम्प्युटर गरी पाण्डुलिपी तयार गर्न दिएनन् । भूमिकाकार लम्सालले पनि उनका हाइकु पूरापूर अध्ययन गरेनन् । स्रष्टा र भूमिकाकार मात्र होइन भाषा सम्पादन गरेका गोविन्दप्रसाद ढकाल पनि अछुता रहेनन्, यसमा दुई मत राख्नै पर्दैन । जसलाई कृति अध्ययनका क्रममा आफैँ पत्ता लगाउन सकिन्छ । किनभने कृति भित्रका १७८ र १९४ औं, १८० र १९५ औं, १६६ र १९८ औं, ५९ र २०३ औं, १७२ र १९२ औं नम्बर लगायतका केही हाइकु दोहोरिएका छन् । यसलाई कसरी लिने भन्ने कुरा आम पाठकको हो । पछिल्लो संस्करणमा परिमार्जित गर्ने तयारी भएको सुनेको छु। नेपाली भाषा व्याकरणको सन्दर्भमा पङ्क्तिकारले केही पहिला वासुदेव अधिकारीको ‘गायब सभामुख’ कविता कृतिको समीक्षा लेख्ने सन्दर्भमा भनेको थियो ‘नेपाली व्याकरणका बारेमा केही बोल्नै हुँदैन वर्तमानमा । यहाँ विभिन्न ‘वादी’ व्याकरण बनेका छन् । व्याकरणिक त्रुटिको सन्दर्भलाई उठाउने हो भने २०७० साल पुसको २८ गते जिल्ला प्रकाशन कार्यालय मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पत्रकारले अवैध रूपमा सुपारी भारत निकासी भएको सन्दर्भमा प्रश्न सोध्ने क्रममा जेल पठाए जस्तो हुन सक्छ ।’ यस्तै जस्तो ढकालका कृतिमा केही व्याकरणिक त्रुटि रहेका छन् । जनजीवनमा चलनचल्तीमा रहेका सन्दर्भमा पनि त्रुटि देखिन्छ जस्तैः मौसम सम्बन्धी एउटा शब्द हुनुपर्ने परम्परा बसाले । छेत्रप्रताप, अभिव्यण्जना, जस्तो (भूमिका पृष्ठ २) यस्तै ‘हाइकु जस्तो गुढ एवं गहन साहित्य विधाप्रति आकर्षित भएका उत्साहपूर्वक काव्य सिर्जनामा लाग्नुलाई सुखद भविष्यको रूपमा लिनुपर्ने ठान्दछु म ।’ (भूमिका पृष्ठ चार) यहाँ वाक्य गठनमा पनि व्याकरणिक त्रुटि देखिन्छ । यसैगरी कृतिमा प्रयोग भएका आफै (पृ.१५), विद्यान (पृ.२७), औषधी (पृ.३३), विकाश (पृ.४७), बाँकि (पृ.४९), शिसा (पृ.५२), बेला (पृ.६८) निम्न शब्दमा व्याकरणिक त्रुटि देखिन्छ । यस्तै गरी ढकालले हाइकु लेखनको सन्दर्भमा उच्चार्य भन्दा पनि लेख्य संरचनालाई बढी ध्यान दिएका छन् । सोही संरचनामा बॉधिएर हाइकु प्रस्तुत गरेका छन् । उनी आफैँले अङ्गालेको संरचना पक्षमा पनि कतै चिप्लिएका छन् । जस्तैः कस्तो होला÷खै मेरो अन्धो जीवन÷आत्मा विनाको (पृ.२७), कपाल सेतै÷विचाराका विचारा÷मनै कालो (पृ.२९), बैङकको गार्ड÷गोरू नभएको हली÷पिंधको चम्चा (पृ.३०) लगायतका केही हाइकु रहेका छन् । यसैगरी उनले लेख्य पाँच, सात र पाँच अक्षरको संरचनामा बाध्नैका लागि नयाँ प्रयोग गरेर जर्बजस्ती संरचनामा छिराएका छन् । जस्तै
घर्मा कलह ÷
जिन्दगीभर पूजा÷
गुरूका गुरू (पृ.२) ।
टाठो कुकुर÷
भुक्छ टोक्छ बेसरी÷
म घर्कालाई (पृ.३)।
यहाँ लेख्य पाँच अक्षरको संरचनामा बाध्नका लागि घरमालाई (घर्मा) बनाइएको छ भने घरकालाई (घर्का) बनाइएको छ । यस्तै हाइकु लेखनको सन्दर्भमा विषयगत विविधतालाई आत्मसाथ गर्नुपर्ने देखिन्छ । उनले एउटै विषयमा छुट्टाछुट्टै हाइकु लेखे पनि भावपक्ष एकै रहने हुँदा त्यसमा पाठकलाई रूचिपूर्ण नलाग्न सक्छ । जस्तै: दुईटी बुढी,
चौकी र अदालत,
मेरो हालत । (पृ.१२)
श्रीमती दुई,
सन्तानलाई बुई,
आगो फुइफुई ।(पृ.१४)
फुली एउटा,
श्रीमती दुईवटा,
मजाऊँ कता ।(पृ.३८)
प्रस्तुत तीन हाइकुको सन्दर्भ भनेको दुई घरबारको नै हो । उनले फरक–फरक धारमा प्रस्तुत गर्ने जमर्को गरेतापनि साहित्य सिर्जना पाठकका लागि गरिने भएको हुँदा त्यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
प्रस्तुत कृतिमा माथि उल्लेख गरिएका समस्या देखिनुको एउटै कारण कृतिको सम्पादन नहुनु हो, यसर्थ उनले आगामी दिनमा यदी हाइकुकै कृति प्रकाशन गर्न चाहे भने हाइकु लेखनमा क्रियाशील स्रष्टा साधकसँग परामर्श, सल्लाह लिएर सम्पादन गर्न लगाएको खण्डमा उनको लेखनले छोटो समयमा सफलताको मार्ग समात्ने छ । अन्तमा के भन्न सकिन्छ भने बद्री ढकाल हिरामणि बन्छन् या बन्दैनन् त्यो समयको कुरा हो । उनीमा त्यो सोख छ । भनिन्छ जन्मेपछि उद्देश्य लिनुपर्छ भनेर । सोहीअनुरूप उनले यो धृष्टता गरेका हुन् । समय र जिन्दगी सोचेजस्तो गरी कसैको पनि चल्दैन यो सबैलाई थाहा भएको कुरा हो । चलाउनेको हातको कुरा उसले कति सहजता अनुभूती गर्छ भन्ने मात्र हो । जिन्दगीमा डाक्टर बनाउने सपना देखेका अभिभावकको सन्तान डाइभर बनेका छन् । महान कवि कलाकार बनाउने सपना देखेका सन्तान मजदुर बन्न पनि सक्छन् तर हिरामणि, हिरामणि नै बन्नेछन् । यो उनको महान अभियान हो । जिन्दगीको ३९ औं वसन्तमा हिडिरहेका ढकालको यात्रा लामो छ । त्यो थाहा पाउँदापाउँदै उनले पाइला चालेका छन् हाइकु विधामा त्यसमा सलाम व्यक्त गर्नैपर्छ । आगामी दिनमा उनको हाइकु लेखनले थप
शिखर चढ्दै जाओस् र उनका अन्य हाइकुको रसास्वादन गर्न पाइयोस् कामना छ ।
Comments